शनिबार, वैशाख ८, २०८१

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

मेरोन्यूज २०७७ चैत ११ गते १५:५६

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जिल्लामा चार हजारको परिचयपत्र आइसकेको जानकारी दिए । उनका अनुसार परिचयपत्र आएसँगै वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु गरिएको हो । “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनाले परिचयपत्र लगिसकेका छन्,”उनले भने ।

छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताए । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उनले जानकारी दिए । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।
–––

प्रतिक्रिया